संसद् अधिवेशनमा आउने अप्ठ्यारा हल गर्न सबैले भूमिका निर्वाह गरौं : सभामुख

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संघीय संसद्को आगामी अधिवेशनमा आउने अप्ठ्यारा समाधान गर्नका लागि सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन् ।

संघीय संसद्को तेस्रो अधिवेशन प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका बीच अन्त्य भएको अवस्थामा आगामी अधिवेशन कसरी चल्छ भन्नेमा आशंका रहेको छ ।

सभामुख घिमिरेले आगामी अधिवेशनमा आउनसक्ने अप्ठ्यारा समाधान गर्न सबैले भूमिका खेल्नुपर्ने धारणा राखे । प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति सभापतिहरू र राष्ट्रिय दलको मान्यताप्राप्त पार्टीका प्रमुख सचेतक, मुख्य सचेतक र सचेतकहरूसँगको छलफलपछि सभामुखले आगामी अधिवेशनका समस्या समाधानका लागि आवश्यक परेमा शीर्ष नेताहरूसँग छलफल गर्ने बताए । ‘आज पनि मैले के आह्वान गरेको छु भने हाम्रो तयारी गरौं, अधिवेशनमा आउने अप्ठ्याराहरूलाई हल गर्नको लागि सबैले भूमिका निर्वाह गरौं,’ उनले भने, ‘संसद् बोलाएपछि विषय अन्तर्गत सदन अगाडि बढ्नुपर्छ । आवश्यक पर्‍यो भने स्वाभाविक शिर्ष तहमा संयुक्त वा अलग अलग बैठक गर्नुपर्छ ।’

सहकारीमा बचत गरिएको रकम ठगी गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै आएको छ । यसअघिको अधिवेशनको अन्तिमतिर संसद्मा कुनै पनि काम अगाडि बढ्न नदिएपछि सरकारले अधिवेशन नै अन्त्य गरेको थियो । कांग्रेस नेताहरूले आगामी अधिवेशनमा पनि उक्त मागलाई यथावत रूपमा अगाडि बढाउने स्पष्ट पारेका छन् ।

सभामुख घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयकमाथिको दफावार सकेर प्रतिवेदन सभामा पेस गर्न पनि निर्देशन दिएका थिए । समितिमा विचाराधीन विधेयकमाथि भइरहेका छलफल र प्रतिवेदन तयारीबारे सभामुखले सभापतिहरूलाई सोधेका थिए ।

विधेयक समितिबाट पारित गर्न समस्या भए निराकरण खोज्न र पारित गरेर आउँदो अधिवेशनका संसद् बैठकमा पेस गर्न सभामुखले भनेका थिए । बैठकबारे सभामुखले भने, ‘विधेयक अझै छलफल भएर टुंगिएका छैनन् । तिनीहरूलाई अधिवेशन आह्वान हुनु अगाडि नै बैठक बस्ने, बनेका उपसमितिका बैठकले पनि समितिलाई प्रतिवेदन दिने र छिटो टुंग्याउने काममा गति दिने कुरामा निष्कर्षमा पुगेका छौं,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार