स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघ्यो

सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४० लाख ४९ हजार १ सय ९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७/७८ मा २ लाख ४५ हजार ५ सय ६१ व्यावसायिक करदाता र ५ लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।

कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको विभागले जनाएको छ । आव २०७७/७८ मा रु ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७/७८ मा ४५० अर्ब ३४ करोड रूपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो ।

आव २०७७/७८ मा मूल्य अभिवृद्धि करतर्फ रु तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा २ खर्ब ८७ अर्ब ६ करोड रूपैयाँ असुली भएको छ । यस्तै सोही अवधिमा २ खर्ब ७७ करोड रूपैयाँ आयकर र १ खर्ब ३४ अर्ब ९ करोड रूपैयाँ अन्तःशुल्क सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कूल बेरुजु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रूपैयाँ रहेकामा गत आवमा २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार रूपैयाँ फर्छ्योट भएको विभागले जनाएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ ३७ हजार ८ सय ६८ रूपैयाँ करदाता दर्ता भएको र हालसम्म २ लाख ६८ हजार ४ सय ३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार