नवनियुक्त मुख्यमन्त्री राई र पाँच मन्त्रीहरुले लिए शपथ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

नवगठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टीका नेता जयराम यादवले सामाजिक विकास मन्त्रालय, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रदेश १ का नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेसँगै प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मका लागि समय दिएका थिए ।

त्यसपछि तत्काल पाँच दलीय गठबन्धन दलको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राईको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुख अधिकारीलाई दावी पेस गरेको पत्र बुझाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार