हाम्रो बिरोधकाबीच एक सेकेण्ड पनि सदनको कामकारबाही रोकिएको छैन् : नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफुहरुको बिरोधकाबीच एक सेकेण्ड पनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेको कारण सदनको काम कारबाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले एक सेकेण्डपनि सदनको कामकारबाही नरोकिएको स्पष्ट पारेका हुन् ।

नेम्वाङले सरकारले नै कुनै विधेयक नल्याएर सदनका कामविहीन बनाएको आरोप लगाए । उनले सरकारले बिजनेस नदिएका कारण नै सदनले सिन्का भाँच्न नसकेको तर्क गरेका छन् ।

नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्य व्यवस्थामा पनि एमालेसँग कुनै छलफल नै नभएको जिकिर गरे । नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा ब्यक्त गरे । नेम्वाङले सदनमा पेस भएका विधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टो बाटोमा हिँडेको तर्क गरेका छन् ।

उनले अहिले मुलुक एमालेमय भएको भन्दै ढुक्क भएर जनताको माझ जान सांसदहरूलाई सुझाव दिए । बैठकमा एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने अनुपस्थित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार