महानगरपालिकाले एक सय शैयाको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने

काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगर विशेष अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार महानगर परिषद् बैठकमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने जानकारी दिएका हुन् । त्यस्तै कोरोनाका कारण प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उनले बताए ।

शाक्यले महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित सहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गर्ने र आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिने बताए । नीति तथा कार्यक्रम मार्फत महानगरले विद्युतीय सवारीसाधनमा शतप्रतिशत कर छुट दिने घोषणा गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिने शाक्यले बताए ।

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने महानगरले जनाएको छ । महामारीका कारण सङ्कटमा परेका लघु, घरेलु र साना उद्योगहरूको पुनरुत्थानका लागि ‘रिभल्विङ फन्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइने पनि मेयर शाक्यले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार