सर्वोच्चको आदेशसँगै सरकारले तोक्यो कर तिर्ने मिति

सरकारले व्यावसायीहरुलाई असार २५ गतेभित्र कर तिर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतले कर असुल गर्न बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले बुधबार कर तिर्ने मिति तोकेको हो ।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ । विभागले सबैखाले कर तथा विवरण असार २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्ने बताएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको सूचनामा उल्लेख गरिएको छ । कोरोना महामारी र संक्रमणलाई ख्याल गर्दै आर्थिक ऐन, २०७७ को दफा १९ अनुसार सरकारले कर दाखिला गर्ने म्याद थप भएको विभागले जनाएको हो ।

सूचनामा भनिएको छ, ‘कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनुपर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरिएको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।’

सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार