भारतबाट फेरि बढेर आयाे इन्धनको मूल्य, नेपालमा के हुन्छ?

निगम फेरि घाटामा

भारतबाट इन्धनको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) ले मंगलबार साँझ निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रूपैयाँ ९८ पैसाले बढेको छ । निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसाले बढेको छ भने हवाइ इन्धन प्रतिलिटर ७ रुपैयाँ ५० पैसाले बढेर आएको हो ।

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ । विगत ४ महिनादेखि निगम नाफामा रहँदै आएको थियो । विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ ।

यता भारतबाट नयाँ मूल्य आए पनि उपभोक्ता मूल्य निगमले निर्धारण गरेको छैन । नयाँ मूल्य तोक्नेबारे निगम बोर्ड बैठक वा निगमले निर्णय गर्नुपर्ने बताइएको छ।

अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार (१ः२० बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ८५, डब्लूटीआईको ७९, मुर्बानको ८४ डलरमाथि कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार