नामिबियाद्वारा नेपालसामु दुई सय ७६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनको लक्ष्य दिएको छ ।

वान्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनायो । नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले ।

उनले एक सय ११ बलमा १५ चौका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकोल लोफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए ।

नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २२ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा छ भने नामिबिया २९ खेलमा ३५ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । ३१ खेल खेलेको स्कटल्यान्ड ४४ अङ्कका साथ शीर्ष स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार