पाँचथरमा एमालेका बसन्त नेम्बाङ ४७ मतान्तरले विजयी

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।

नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए।

प्रदेशसभा १ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त पाए।

प्रदेशसभा २ बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङवो विजयी भइसकेका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी भएका हुन् ।

३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार