उपनिर्वाचनको दिन पनि मतदान केन्द्रसम्म सार्वजनिक यातायात चल्न पाउने

इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा भोलि हुने निर्वाचनमा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन हुने भएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थलसम्मै सवारी साधन चलाउन मिल्नेगरि आवश्यक प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पन्तका अनुसार मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल निर्बाध रूपमा सञ्चालन हुन पाउनेछन् । त्यस्तै, परिचयपत्र बोेकेका सञ्चारकर्मीको सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन निर्बाध रूपमा चल्न पाउने छ ।

त्यसैगरी, निर्वाचन आयोगबाट जारी परिचयपत्र बोकेका पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने, फोहोरमैला ओसारपसार गर्ने, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन चल्न पाउने छन् । कूटनीतिक नियोग, यूएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।

विगतमा निर्वाचनका दिन सार्वजनिक यातायात चल्न रोक लगाइन्थ्यो। इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार