लुम्बिनी समाचार : घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका श्यया

कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन् । यो उमेर समूहका करीब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । त्यसपछि ३० देखि ३४ वर्षका १२ प्रतिशत, ३५ देखि ३९ र २० देखि २४ वर्षका १० प्रतिशत सङ्क्रमित छन् । सबैभन्दा कम ७० देखि माथि र १० वर्षभन्दा कम उमेर समूहका छन् । यो उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकामा सङ्क्रमणदर झण्डै दुई प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो ।

कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा उपचारका लागि सहज भएको छ । अघिल्लो हप्तासम्म भरिभराउ रहेका लुम्बिनीका अस्पतालमा बिस्तारै बिरामीको चाप कम हुँदै गएको छ । रुपन्देहीका अस्पतालमा श्यया खाली नभए पनि अक्सिजनको सहज आपूर्ति र बिरामीको चाप केही कम भएकाले उपचार सहज बन्दै गएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा नन्दु पाठकले बताए ।

खाली हुँदै बाँके अस्पतालका श्यया
कोरोना सङ्क्रमणदर घटेसँगै यहाँका अस्पतालका श्यया खाली हुँदै गएका छन् । एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा श्यया नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका श्यया खाली हुँदै गएका छन् ।

दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित भर्ना हुने बाँकेमा सङ्क्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी बाँकेका अस्पतालमा उपचारका लागि आउने गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । उनका अनुसार सङ्क्रमण दर घटेसँगै पश्चिम नेपालमै कोरोना उपचार केन्द्रका रुपमा रहेका नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालका कोभिड कक्षकै श्ययासमेत खाली भएका छन् ।

मङ्गलबार भेरी अस्पतालको कोभिड वार्डमा ३०, नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा २८, वेस्टर्न अस्पताल नेपालगञ्जमा १३, युनाइटेड अस्पताल नेपालगञ्जमा पाँच गरी ७६ श्यया खाली भएका वलीले जानकारी दिए ।

कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा ३६१ कोभिड श्ययामा मङ्गलबार २८५ व्यक्ति उपचाररत छन् भने ७६ श्यया खाली छन् । बाँकेमा अहिले सङ्क्रमितभन्दा कोरोना जितेर घर फर्किनेको सङ्ख्या धेरै छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञाको एक महिनापछि बाँकेमा सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । दैनिक १० जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदरसमेत न्यून भएको छ । अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ ।

यसैबीच कोरोना सङ्क्रमणबाट यहाँ हालसम्म ५४० जनाको मृत्यु भएको छ । कोरोना महामारी सङ्क्रमणको एक वर्षको अवधिमा उपचारका लागि यहाँस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा धेरै बाँकेका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

उनका अनुसार हालसम्म कोरोना सङ्क्रमणका कारण बाँकेका २८१ र अन्य जिल्लाबाट उपचारका लागि यहाँका अस्पतालमा भर्ना भएका २५९ गरी ५४० जनाको मृत्यु भएको हो । पछिल्लो पटक आज बिहान उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार