महोत्तरीका झा दम्पतीलाई ओछ्यानसँगै गायब पार्ने ४ जना पक्राउ

घरमा रगतको छिटा देखिएकाले हत्या गरिसकेको हुन सक्ने प्रहरीको अनुमान

एक महिनाअघि महोत्तरीका झा दम्पतीलाई ओछ्यानसँगै गायब पार्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी  अनुसन्धानबाट प्राप्त क्लुका आधारमा उनिहरु पक्राउ परेपछि पक्राउ परेका चारैजनाले अपराध स्विकारेका छैनन ।

महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवी गएको फागुन १० गते सुत्ने ओछ्यानसँगै अपहरणमा परेको थिए । घरबाटै दम्पती बेपत्ता भएको विषयमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै स्थानीयले विरोध गरेपछि गतहप्ता प्रहरीको सिआईबी टोलीले अनुसन्धान थालेको थियो । आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरको घटनामा संलग्नता पुष्टि भएको भन्दै सार्वजनिक गरेको हो ।

पक्राउ परेका चारै जनाले अपराध नस्वीकारे पनि अनुसन्धानबाट घटनामा उनिहरुको संलग्नता पुष्टि भइसकेको महोत्तरी प्रहरीको दाबी छ । पक्राउ परेकाहरुले झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको महोत्तरी प्रहरी प्रमुख दिनेश आचार्यले बताए ।

घटनामा संलग्न पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । झा दम्पतीलाई अपहरणकारीले ओछ्यानसहित उठाएर लगेका छन् । घटनास्थलमा रगतको छिटा समेत देखिएको थियो । जसले गर्दा झा दम्पतीको हत्या भइसकेको प्रहरीको अनुमान छ । तर पुष्टि भने अझै हुन सकेको छैन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार