भीम रावलले भने– राजनीतिको घुम्तीमा पुगेको छु

नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्तीमा पुगेको बताएका हुन् ।

उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको तर्क गरे । जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा धकेलिएको महसुस भएको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निषेधित गरिएको उनको निश्कर्ष छ ।

‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो मलाई महशुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुश गरेको छु । हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जादा घुम्तीमा पुग्यौं भने मान्छे अर्को मोडमा लाग्छ ।’ उनले भने, ‘कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महसुश गरेको छु । म घुम्तीमा पुगेको छु भने मोड कस्तो हुने छ भन्ने कुरा रिपोर्टर्स क्लबको लोकप्रिय मञ्च छदैछ, फेरि म त्यो कुरामा आउने छु ।’

रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे । आफूले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार