मधेस प्रदेशकी मन्त्री बेची लुंगेलीले सम्हालिन् श्रम मन्त्रालयको जिम्मेवारी

मधेस प्रदेशकी विनाविभागीय मन्त्री बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

नेकपा एकीकृत समाजवादीबाट विनाविभागीय मन्त्रीको शपथ लिएकी उनले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा गत वैशाख ६ गते प्रदेश प्रमुखले उनलाई विनाविभागीय मन्त्रीको शपथ गराएकी थिइन् ।

यस्तै माओवादी केन्द्रबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् । मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।

मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् । तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् ।

श्रममन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले तीन वटा निर्णय गरेको बताइन् । प्रदेशको आठ वटै जिल्लाका कार्यालयहरूमध्ये कम्तीमा एउटा कार्यालयको आफ्नै जग्गा व्यवस्थापन गरी एउटा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने, सबै कार्यालयमा प्रतीक्षालय निर्माण गरी खानेपानीको व्यवस्था गर्ने र कार्यालयमा सेवाग्राहीलाई टोकनको व्यवस्था गरी एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह गर्ने निर्णय भएको मन्त्री लुंगेलीले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार