ओलीको नारामा प्रचण्ड सहमतः अल्टिमेट गोल ‘सुखी नेपाली, समृद्ध नेपाल’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् ।

राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै राजनीतिक दल र निजी क्षेत्रको बीचमा अझ गम्भीर छलफल गरेरमात्रै नीति कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने कोसिस सरकारले गरिरहेको बताए ।

साथै, प्रधानमन्त्री प्रचण्डले आफ्नो अल्टिमेट गोल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको नारा ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा रहेको बताएका छन् । तत्कालीन एमाले सरकारले १५औं पञ्चवर्षीय योजनाको मूल मन्त्रको रुपमा समेटको उक्त नारालाई प्रधानमन्त्री प्रचण्डले अपनत्व ग्रहण गरेका हुन् ।

‘हाम्रो अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै हो । यसमा विमती हुनुपर्ने कारण छैन । तर, सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त हो । त्यो प्रक्रियाबाट पुगिन्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।

ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक २०७४ साल फागुन ३ गते सत्ताको बागडोर सम्हाल्दै गर्दा उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को मूल नारा अघि सारेका थिए । उनले अहिले पनि त्यसैलाई जोड दिँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार