बाँकेमा एक रातमा १७ जना संक्रमितको मृत्यु

बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौ जना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए । एकै रातमा यति धैरै संक्रमितहरुले ज्यान गुमाएको यो पहिलो पटक भएको पनि वलीले बताए । यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति वलीले बताए ।

मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका–७ दाङका ३० वषीया महिला, सानोभेरी नगरपालिका–११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८४ वर्षीय पुरुष छन् ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–२ बाँकेका ५९ वर्षीया महिला, टिकापुर नगरपालिका–१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ बाँकेका ५८ वर्षीया महिला र नेपालगञ्ज उममहानगरपालिका–३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

उनका अनुसार त्रिवेणी गाउँपालिका–१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–५ कैलालीका ६८ वर्षीया महिलाको पनि संक्रमणकै कारण मृत्यु भएको हो ।

सो केन्द्रका अनुसार गत केही दिन यता जिल्लामा संक्रमित भेटिने क्रम धेरै कम भएपनि मृत्यु हुने क्रम फेरी अहिले आएर अत्याधिक बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार