ज्ञानेन्द्र ढुङ्गानाले शुक्रबारदेखि नबिल बैङ्कको कार्यभार सम्हाल्दै

एनबी बैंकलाई गाभ्ने स्वीकृति पाएको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र ढुङ्गानाले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्ने भएका छन् । बुधबार राष्ट्र बैंकले दुवै बैंकलाई गाभिनका लागि अन्तिम स्वीकृति दिएसँगै ढुङ्गानाले नबिलको नेतृत्व सम्हाल्ने निश्चित भएको हो । नबिल बैंकको विशेष साधारण सभाले ढुङगानालाई असार १७ गतेदेखि प्रमुख कार्यकारीको जिम्मेवारी दिने प्रस्तावलाई पारित गरेको थियो ।असार मसान्तमा नै एकीकृत कारोबार थाल्ने लक्ष्य लिएको नबिल बैंकमा साधारण सभाको निर्णय अनुसार ढुङ्गानाले असार १७ गतेबाट नेतृत्व सम्हाल्न लागेका हुन् ।

त्यस्तै बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहने छन् । जसमा एनबी बैङ्कका कार्यवाहक सिइओ भूपेन्द्र पाण्डे, नबिल बैङ्कका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । एनबी बैङ्कका कर्मचारीहरूको भने एक तह भने घट्ने भएको छ । नबिल बैङ्कमा गाभिएपछि एनबी बैङ्कका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ । एनबीलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैङ्कबाट अन्तिम स्वीकृति पाएको हो ।

सिइओमा नियुक्त ढुङ्गानाले  नविलले नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई प्राप्ति गर्न लागेको प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । ढुङ्गाना गत पुस अन्तिम साता नेपाल बङ्गलादेश बैङ्कको सीईओबाट अवकाश भएका हुन् ।  नेपालको अग्रणी बैङ्क बनेको नबिलमा सिइओ नियुक्त ढुङ्गाना नेपालका अनुभवी बैंकर मानिन्छन्। उनले तीन दशक यस क्षेत्रमा बिताइसकेका छन्।  नेपाल राष्ट्र बैङ्कको निर्देशकबाट राजीनामा दिएपछि उनले निजी क्षेत्रका बैङ्कहरूबाट नयाँ इन्निङ सुरु गरेका थिए।

राष्ट्र बैङ्क छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कको महाप्रबन्धकमा नियुक्त भएका थिए। त्यहाँ एक वर्ष ‘सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बङ्गलादेश (एनबी) बैङ्कमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार