नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर रोक्न परेको रिट फिर्ता

नबिल बैंक र नेपाल बंगलादेश (एनबि) बैंकबीचको मर्जर रोक्न परेको रिट निवेदकले फिर्ता लिएका छन् । बिहीबारका लागि न्यायाधिसहरु डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको संयुक्त इजलासमा सुनुवाइ तोकिएको रिट सुनुवाइ सुरु नहुँदै निवेदकले फिर्ता लिएका हुन् ।

एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन दिएको आदेश संयुक्त इजलासमा पुगेपछि रिट फिर्ता भएको हो । सबै कानुनी प्रकृया सकेर मुद्दा फिर्ता भएको र अब शनिवार विशेष साधारणसभा हुने बताइएको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकले आगामी ७ जेठका लागि विशेष साधारण सभा बोलाएका छन् । योसँगै मर्जर प्रकृया अगाडि बढेको छ।

नबिल बैंकसँग एक्विजेशन प्रक्रिया रोक्न लागि सर्बोच्च अदालतमा दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालिले बैशाख १९ गते तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले बैशाख २२ गते रिट दायर गरेका थिए । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए। साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि रिट दायर भएको थियो ।

दुबै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्वायर) गरेपछि नबिल बैंक मुलुककै दोस्रो ठूलो वाणिज्य बैंक बन्ने भएको छ। नबिल बैंकको एक कित्ता सेयर बराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो । अर्थात् अब नेपाल बंगलादेशको एक सय कित्ता सेयर हुनेले नबिलको ४३ कित्ता सेयर पाउने छन् ।

नेपाल बंगलादेशलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ । यो प्राप्तिपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ। हाल नबिलको १८ अर्ब ४९ करोड चुक्तापुँजी छ भने नेपाल बंगलादेशको १० अर्ब ८ करोड रूपैयाँ छ। चुक्तापुँजीको आधारमा अब बन्ने नबिल दोस्रो ठूलो वाणिज्य बैंक बन्नेछ। खुद ब्याज आम्दानी, कुल सञ्चालन आय, सञ्चालन आम्दानी, नाफा लगायतका आधारमा भने निजी क्षेत्रको पहिलो बैंक भएको कम्पनीको दाबी छ।

हाल सबभन्दा धेरै चुक्तापुँजी (२३ अर्ब ७९ करोड रूपैयाँ) सहित ग्लोबल आइएमइ देशकै ठूलो बैंक हो।    नेपाल बंगलादेश बैंकमा रहेको आइएफआइसी बैंक, बंगलादेशको सेयर यसअघि नै नबिल बैंकका प्रवर्द्धक तथा अर्बपति विनोद चौधरीकी श्रीमतीको नाममा खरिद गरिसकिएको छ। आइएफआइसी बैंकको नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत सेयर थियो।

हाल नबिल बैंकमा विनोद, उनकी श्रीमती शारिका र छोरा निर्वाणको २.२८ प्रतिशत सेयर छ। चौधरी समूहको कम्पनी एनबी (इन्टरनेसनल) लिमिटेडको नामबाट पनि ४८.६९ प्रतिशत सेयर छ। प्राप्तिपछि नेपाल बंगलादेश र नबिल दुवैतर्फको सेयर स्वामित्व मिलाएर चौधरी समूहको करिब ४८.८८ प्रतिशत हुने भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार