कङ्गोमा नेपाली सैनिक मारिएपछि राष्ट्रसंघ के भन्छ ?

कङ्गोमा एक जना नेपाली शान्ति सैनिक मारिएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरशले शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुनसक्ने चेतावनी दिएका छन्।उनले कङ्गोका अधिकारीहरूलाई उक्त घटनाको अनुसन्धान गर्न र दोषीलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन्।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको राष्ट्रसङ्घीय मिसन मोनुस्कोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोही समूहले गरेको आक्रमणमा मङ्गलवार निधन भएको थियो।नेपाली सेनाले उक्त क्षेत्रमा खटिएका अरू शान्ति सैनिकहरू सुरक्षित रहेको भन्दै ज्यान गुमाएका शान्ति सैनिकको शव राष्ट्रसङ्घको समन्वयमा नेपाल ल्याइने जनाएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार नेपाली शान्ति सैनिकले अप्रेसन बाली सञ्चालन गरिरहेको बेला विद्रोहीहरूले लुकेर गोली चलाएका थिए।त्यसक्रममा नेपाली शान्ति सैनिक घाइते भएका थिए। उनलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि बुनियास्थित राष्ट्रसङ्घीय अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको निधन भएको थियो।

अप्रेसन बालीका दौरान खटिएका अन्य नेपाली शान्ति सैनिक सुरक्षित रहेको सैनिक प्रवक्ताको भनाइ छ। नेपाली सेनाका प्रवक्ताले ती शान्ति सैनिक सिपाही सुर्खेतका अनिल गुरुङ भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार