उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि राजीनामा दिनुपर्ने, एमालेको आपत्ति

वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने भए जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ । ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा उम्मेदवार बन्ने भए ०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

चुनावबाट निर्वाचित वा मनोनीत व्यक्ति उम्मेदवार बन्ने भए मनोनयन दर्ताअघि नै राजीनामा दिइसक्नुपर्ने आयोगको आचारसंहितामा उल्लेख छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा भनिएको छ ।

यदी कसैले आचारसंहिता अटेर गरेको पाइएमा उजुरी दिनसमेत आग्रह गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिन सकिनेछ ।

यस्तै नेकपा एमालेले उक्त प्रावधानमा आपत्ति जनाएको छ।एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हास्यास्पद रहेकाे बताएका छन् ।

‘के त्यो भए प्रतिनिधिसभाको निर्वाचन हुँदा प्रधानमन्त्री शेरबहाहदुर देउवा र उहाँका मन्त्रीहरुले पहिल्यै राजीनामा दिनुहुन्छ ? पदमा रहेर चुनाव लड्न पाइने होइन भने चुनाव गराउन या देशमा निर्दलीय सरकार बनाउनुपर्ने भयो या त प्रधानमन्त्री-मन्त्रीहरु नहुँदा सरकारबिना नै चुनाव गराउनुपर्ने भयो,’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

उनले अगाडि भनेका छन्,  ‘स्थानीय तहमा एमाले का जनप्रतिनिधि बढी छन् र फेरि पनि उनीहरुले नै जित्ने हुन् भन्ने नाममा यति हाँस्यास्पद निर्णयमा पुग्दा सामान्य तथ्यको त ख्याल हुनुपर्ने हो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार