यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् : सन्दीप लामिछाने

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दाेष रहेको र आफूलाई फसाइएको जिकिर गरेका छन्।

जिल्ला अदालत काठमाडौँबाट ८ वर्ष जेल सजाय सुनाइएका उनले आफू धेरै समय मौन बसेको भन्दै मंगलबार साँझ फेसबुकमा लामो स्टाटस लेखेका हुन्।

‘…म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस्- मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस् मेरो लागि ८ वर्षले पुग्दैन, फाँसी नै सही हुनेछ’, उनले लेखेका छन्, ‘म त फसेँ, बोलेकै भरमा, अब अरू कोही नफसोस्, बिन्ती छ।’

उच्च अदालतले पाँच पटकसम्म पेसी तोकेर पनि मुद्दाको अन्तिम सुनुवाइ गरेको छैन। अब उनको पुनरावेदन मुद्दा सुनुवाइका लागि आगामी जेठ १ गतेलाई पेसी तोकिएको छ। यसबीच उनी भावुक भएका हुन्।

यस्तो छ उनको पूरा स्टाटस-

“धेरै समय मौनतामा बसिरहेँ, आफूलाई अन्धकारमा राखिरहेँ, अनि प्रतीक्षामा पलपल बाँचिरहेँ। मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि छ, तर पनि धेरै चुप लागेर बसेँ। कानुन व्यवसायीले भन्नुहुन्छ- तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोड ले पुष्टि गर्छ। तर मैले कति सहनु?

म न्याय माग्दामाग्दा शिथिल भइसकेँ। सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरू रहेछन्, अनि केही प्रभाव पार्ने पत्रपत्रिका। ती तथाकथित र भनौँदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो उहाँहरूलाई मेरो र गौशाला- २६ बीच जुनसुकै सम्बन्ध- चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै साबित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्। मलाई ८ वर्षले पुग्दै पुग्दैन।

तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन, दुनियाँले बुझेको छ। म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्भीर दुर्घटना हुनेछ। लेखिराख्नु भगवान्‌ले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि।

ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरू हुन्, तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ- ती तथाकथित अभियन्ताताहरू जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन्।

मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान्। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ। जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला, धर्मको अग्निपरिक्षामा तपाईंहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ।

यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ।

फेरि भन्छु- यो घटना घटेको होइन, घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला, मचाहिँ विश्वस्त छु।

अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहने छु। फेरि पनि मेरो यो खुलला चुनौती हो- ती तथाकथित अभियन्ताताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला-२६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फाँसी होस्, मेरो लागि ८ वर्षले पुग्दैन, फाँसी नै सही हुनेछ। म त फसेँ, बोलेकै भरमा, अब अरू कोही नफसोस् बिन्ती छ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार