कोरोनाबाट हेटौँडा र वीरगञ्जमा दुई जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौंडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । मृतकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ ।

यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । मृतक पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार