ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादी केन्द्रको निष्कर्ष

अन्य पार्टीसँगको वार्ताबाट छिट्टै निर्णय लिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने र एउटा निर्णय लिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ । बैठकले प्रतिनिधिसभाको‌ अधिवेशन प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नु सरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भर्त्सनासमेत गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै पार्टी पंक्तिलाई कोरोनाबारे जनचेतना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए । मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता, बिभिन्न जिम्मेवारीमा रहेका सदस्यहरुको रिपोटिङ, पार्टीको विधान संशोधन र आगामी केन्द्रीय कमिटीको तयारी लगायतका कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको र एकदुई दिनमा नै टुंगोमा पुगिने जानकारी गराएका थिए । उनले संवैधानिक निर्वाचन हुन्छ भने त्यो निर्वाचनको सामना गर्न तयार रहेको पनि बताएका थिए । थप एजेन्डामाथि भोलि बुधबार १ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार