नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

काठमाडौंमा शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । डेब्यु गरिरहेका कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा गरेको हो । यो साझेदारी ट्वान्टी २० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो । कुशलले ४६ बल खेली ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए । आसिफ ५४ रनमा अविजित रहे । उनले ३८ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे । विजयी छक्का प्रहार गरेका कप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाइ अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । नेदरल्यान्ड्सका बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए । नेपालका लागि सन्दीप लामिछाने ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १३ रन मात्र खर्चिएर १ विकेट तथा स्पीनर शाहब आलमले ४ ओभरमा ४५ रन खर्चिएर १ विकेट हात पारे ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार