प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।

प्रधानमन्त्रीले भने,‘नेपाल र चीनबीचका थप नाकाहरु सञ्चालनमा आएका छन् । यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ । नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु ।’

अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार