केएमसीका सञ्चालक सुनिल शर्मामाथि सिंहदरबारभित्रै कालोमोसो

पाँच जना पक्राउ

काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भनेर आन्दोलनरत विद्यार्थीहरूले शर्मामाथि दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमध्ये दुई जना नेकपा एसनिकटको अनेरास्ववियूका नेता हुन् । उक्त संगठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीका अनुसार उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेका छन् । पराजुलीले उनीहरूको ‘बहादुरी’ को प्रशंसा गर्दै शीघ्र रिहाइको माग गरेका छन् ।

बैठकबाट निस्कने क्रममा बाहिर विद्यार्थी नेताहरू शर्मालाई ढुकेर बसेका थिए । शर्मा आउनासाथ उनीहरूले सुरुमा नमस्कार गरे । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि जाइलाग्दै कालोमोसो दल्ने प्रयास गरिएको एक प्रत्यक्षदर्शी विद्यार्थीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार