३३ किलो सुन प्रकरण : मुख्य आरोपी गोरेका भाइ धरौटीमा छुटे

साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेशलाई बिहीबार २ लाख रुपैयाँ धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेर थुनछेक आदेश जारी गरेको हो ।

रमेशलाई संयुक्त अरब ईमिरेट्सबाट केही दिन अगाडि मात्रै प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो । रमेशविरुद्ध सांगठित अपराध, अवैध सुन चोरी निकासी गरी राजस्व छली गरेको तथा सनम शाक्यको हत्या गरेको अभियोग लगाइएको थियो ।

उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो । मुख्य नाइके भनिएका गोरे भने दोषी ठहर भई जेलमा रहेका छन् ।

२०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो । सो प्रकरणमा गोरेको समूहले यातना दिँदा मोरङको उर्लावारीका शाक्यको ज्यानसमेत गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार