सनराइजले ल्यायो दक्षिण एशियामै पहिलो सेवा, सहकारीका ग्राहकलाई पनि ‘भिसा डेभिट कार्ड’

सनराइज बैंकले चार वर्षको प्रयासपछि सहकारीहरुलाई पहिलोपटक भिसा डेभिड कार्ड उपलब्ध गराएको छ ।

सहकारी र बैंक सँगसँगै भन्ने उद्देश्यका साथ सहकारीका सदस्यलाई भिसा डेभिड कार्डको सुविधा सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले जानकारी दिए ।

बैंकले स्थापना कालदेखि नै डिजिटल भुक्तानीमा जोड दिँदै आइरहेका बेला सहकारीलाई पनि त्यससँग जोड्न पाउदा खुसी लागेको उनले बताए ।

बैंकले भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकलाई को–ब्रान्डेड डेबिट कार्ड जारी गर्न पोयोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर), आईमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) सँग सहकार्य गरेको हो ।

परियोजना अन्तर्गतका पूर्व तयारीअनुरुप को–ब्रान्डेड कार्ड जारी गर्नेबारे भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको र प्राविधिक सेवा प्रदायकको सहकार्यमा स्टिम तयार गरी परीक्षण भइसकेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आवमा जारी मौद्रिक नीतिमार्फत घोषणा गरेको ‘सहकारीका ग्राहकसमक्षसमेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिनेछ‘ लाईसमेत परियोजनाले मूर्त रुप दिने अपेक्षा राखिएको प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ ।

यस कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुसंख्यक जनता लाभान्वित हुने हुँदा वित्तीय समावेशीतामा योगदान पुग्ने विश्वास बैंकले लिएको उनले बताए ।

भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एसियामा नै पहिलो अभ्यास हो । भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एसियाकै मार्गदर्शन गर्ने विश्वास बैंकले लिएको छ ।

यस परियोजना अन्तर्गत कार्ड जारी गर्न इच्छुक सहकारी संस्थाहरुले प्राविधिक सेवा प्रदायक पायोनियर एसोसिएट्स प्रालि वा बैंकमा सम्पर्क राखी सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

पायोनियर एसोसियट, सनराइज बैंक र इमार्कको सहकार्यमा सहकारी संस्थाको नामबाट नेपाल,भूटान र भारतमा प्रयोग गर्न सकिने भिसा को–ब्रान्ड डेभिड कार्ड जारी गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत नरेश नेपालले जानकारी दिए ।

पायोनियरले समय सापेक्ष विभिन्न विद्युतीय वित्तीय पहुँचका औजारहरु उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकारी नेपालको भनाइ छ । विश्वस्तरको वित्तीय पहुँचको सेवा विस्तार गर्दै आएको पायोनियर सन् २००६ मा स्थापना भई वेबमा आधारित प्रविधिमार्फत सेवा पुर्याउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार