कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

७ हजार ३६ विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको हो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो ।

तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छ ।

७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५३७ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np  राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार