चार मन्त्रीको सांसद पद खारेज, सभामुखले गराए जानकारी

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद खारेज भएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद गएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनको आधारमा माओवादी केन्द्रले गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको सूचनालाई सभामुखले जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवायमाल आएको प्रतिनिधिसभालाई जानकारी गराएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । मन्त्री रहेका चारैजना सांसदले मन्त्रीमै रहिरहनका निम्ती फेरि शपथ लिनुपर्ने हुन्छ । संविधानमा सांसद् नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था छ ।

त्यस्तै, ६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद् पदका लागि उपनिर्वाचन हुने पनि संवैधानिक व्यवस्था छ । त्यसअनुसार रिक्त रहेका सांसद पदमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

सांसद पद रिक्त रहेको सूचना संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई दिनेछ । त्यसपछि उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार