दाङबाट काठमाडौं आउँदै गरेको गाडीमा कार्टुनभित्र भेटियो ४३ लाख र ९ वटा तिलहरी

काठमाडौंको नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जना पक्राउ परेका छन् ।

तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा प्यासेजमा टेपले र्‍यापिङ गरेको कार्टुन प्रहरीले फेला पारेको थियो । सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

कार्टुनभित्र प्रहरीले हेर्दा पोतेसहितका छड्के तिलहरी ९ वटा र ४३ लाख नगद फेला पारेको थियो । त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राउ गरेको हो । सन्दिपलाई थानकोट वृत्तको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार