संसद् कानुन बनाउनेभन्दा अन्तै अल्मलियो

नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले मुलुकको सार्वभौम संसद् कानुन बनाउने काममा भन्दा पनि अन्यत्रै अल्मलिएको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाजुराले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्को मुख्य काम मुलुकका लागि आवश्यक कानुन निर्माण गरेपनि कानुन निर्माणको सट्टा संसद् अरुनै मुद्दामा कता कता अल्मलिएको बताएका हुन् ।

सांसद डा शर्माले भने, “वर्तमान प्रतिनिधिसभाको १७ महिना अवधिमा संसद्मा नीति र योजनाका कुरा कति उठे र कानुन कति बने भन्ने प्रश्न गर्ने हो भने यसको गतिलो जवाफ दिने ठाउँ छैन । संसद्ले आफ्नो भूमिका र दायित्वको काम कति ग¥यो भनेर अनुसन्धान गर्ने हो भने मलाई लाग्छ संसद् यो अवधिको आफ्नो ९० प्रतिशत समय दलहरुबीचको आपसी झगडामै बिताएको छ ।”

संसद् अधिवेशन जारी रहेको अवस्थामा गम्भीररुपले आफ्नो दायित्वबमोजिमको काम नगर्ने अनि अधिवेशनको अन्त्य गरेर अध्यादेशबाट कानुन ल्याउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

सांसद शर्माले ठूला पार्टीका ठूला नेताहरु चुनाव लड्न डराउने र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद आएर शक्तिशाली मन्त्रालय खोज्ने प्रवृत्ति गलत रहेको बताए ।

देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र साना व्यवसायीहरुको झन ठूलो समस्या रहेकाले सरकारले व्यवसायीहरुलाई काम गर्ने वातावरणका साथै आवश्यक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने माग गरे ।

छिटोछिटो सरकार परिवर्तन हुने गरेका कारण देशमा निर्माणका काम हुन नसकेका र यसका कारण अर्थतन्त्रमा पनि असर परेको उनले बताए । मुलुकको अर्थतन्त्रमा सुधार ल्याई रोजगारीका अवसरहरु सिर्जना गर्ने र यसबाट देशबाट युवा पलायनको अवस्थालाई रोक्नका लागि स्थायी सरकार आवश्यक रहेको उनको भनाई थियो ।

देश यसैगरी चल्ने र राजनीतिक स्थायित्व कायम गर्न नसकिने हो भने नागरिकमा निरासाको तह झन बढ्ने भन्दै उनले मुलुकका प्रमुख राजनीतिक शक्तिशरुलाई समयमै सोच्न पनि सुझाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार