सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, को हुन् उनी ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् ।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।

सङ्घीय संसद्‌को कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनुअघि सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । सो अवसरमा सचिवालयका तर्फबाट सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद् सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजात उपलब्ध गराए ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।

स्नातक तहसम्म अध्ययन गरेकी सांसद खान २९ वर्षकी छन् । रुपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्दीमा जन्मिएकी सांसद खान अहिले बाँकेको डुडुवा गाउँपालिका–३ बाट प्रतिनिधित्व गर्छिन् । उनी रुपन्देहीबाट विवाह गरेर बाँके गएकी हुन्। सांसद खानको अहिले बाँके कार्यक्षेत्र छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार