लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ ।

अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए ।

अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तर्क्रिया गरेका थिए । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे अन्तर्क्रिया भएको थियो ।

उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेसका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरूबारे जानकारी गराए । जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरूले बताए ।

निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले औंल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरूको थियो । उनीहरूले प्रदेशस्तरका केही ठूला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरे । कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार