पाँच पटक चुनाव जितेका डन मुख्तार अन्सारीको मृत्यु

माफियाका रुपमा चिनिएर राजनीतिमा प्रवेश गरी पाँच पटक विधायक चुनिएका मुख्तार अन्सारीको मृत्यु भएको छ। उत्तर प्रदेशको बान्दा जेलमा रहेका उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालले हृदयाघातको कारण उनको मृत्यु भएको जनाएको छ। परिवारले भने उनलाई विष दिएर हत्या गरिएको आरोप लगाएको छ।

६३ वर्षीय अन्सारीले १९९० को दशकमा गुन्डागर्दीको गिरोह सञ्चालन गर्थे। उनीविरुद्ध ६० मुद्दा दर्ता भएका थिए। जसमध्ये १५ हत्यासम्बन्धी थिए। १९९६ मा उनी राजनीतिमा प्रवेश गरेका थिए। २०२२ सम्म आफ्नो घर रहेको क्षेत्रबाट उनी विधायक रहिरहे। भाजपाका विधायक कृष्णानन्द रायको हत्या आरोपमा गत वर्ष उनलाई दोषी ठहर गर्दै अदालतले १० वर्षको सजाय सुनाएको थियो।

यही महिना पनि १९९० को एक हतियार लाइसेन्ससम्बन्धी मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। अन्सारीका भाइ अफजल अन्सारीले उनलाई विष दिइएको दाबी गरे। ‘जेलमा उनलाई खानामा मिसाएर विष दिइएको हो। उनलाई दोस्रो चोटि विष खुवाइएको हो। ४० दिनअघि पनि उनलाई विष दिइएको थियो,’ उनले भने।

गत मंगलबार पनि बाथरुममा लडेको भन्दै उनलाई अस्पतालमा उपचार गरिएको थियो। १४ घण्टामा उनलाई डिस्चार्ज गरिएको थियो। उनका छोरा उमर अन्सारीले गत वर्ष पनि पिताको ज्यानमा खतरा रहेको भन्दै अदालतमा निवेदन दिएका थिए। उनको पोस्टमार्टम शुक्रबार हुँदैछ। एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार