विश्वकप छनोट : नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित

फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो लेगमा पनि पराजित भएको छ ।

बहराइन नेशनल स्टेडियममा गएराति भएको खेलमा नेपाली टोली बहराइनसँग ३–० गोल अन्तरले पराजित भएको हो । नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो ।

छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक साता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । बहराइनको घरेलु मैदानमा भएको दुबै खेलमा नेपालले समग्रमा ८–० को हार भोग्यो ।

दोस्रो चरणमा चार खेल खेलेको नेपाल अंक विहिन रुपमा अंक तालिकाको पुछारमा छ । यसअघि नेपालले यमनविरुद्ध २–० र युएईविरुद्ध ४–० ले पराजित भएको थियो ।

युएई १२ अंकमा शीर्ष र ९ अंक भएको बहराइन दोस्रो स्थानमा छ । ३ अंक भएको यमन तेस्रो स्थानमा रहँदा नेपालले अंकको खाता खोल्न सकेको छैन ।

दोस्रो लेग अन्तर्गत नेपालले अब आगामी जुनमा युएई र यमनसँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार