मतदानको समय सकियो, आजै गणना सुरु गर्ने तयारी

उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ । इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा  १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो ।

आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो । यसपछि बुथमा आउनेले मतदान गर्न पाउने छैनन् ।

लाइनमै रहेकाले भने मतदान गर्न पाउनेछन् । इलाममा सबै मतदानस्थल र केन्द्रहरूमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

कति मतदान भयो भन्नेबारे संकलन गर्न बाँकी रहेको छ । त्यस्तै इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने यादवले बताएका छन् ।
‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भने ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार