खेलाडी र प्रशिक्षकलाई कोशी सरकारको नगदसहित सम्मान

कोशी प्रदेश सरकारले विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा पदक जितेका खेलाडीहरूलाई सम्मान गरेको छ । मंगलबार धनकुटामा पुगेका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् ।

मलेसियामा सम्पन्न भएको आईटीएफ तेक्वान्दो विश्व च्याम्पियसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद ५० हजार, चीनमा सम्पन्न भएको १९औँ एसियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई नगद दुई÷दुई लाखसहित सम्मान गरिएको हो ।

सोही प्रतियोगितामा रजत पदक विजेताका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठ समेत नगद दुई लाख र कदर पत्रसहित सम्मानित भएका छन् ।

यसैगरी साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसीपमा रजत पदक विजेता सविता राना मगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अञ्जिला तुम्बापोलाई पनि सम्मान गरिएको छ । कार्कीले प्रशिक्षक श्याम मानन्धरसहित सबैलाई जनही २५ हजारका दरले सम्मान गरे । कार्कीले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तर्राष्ट्रियस्तरमा भएका खेलका विजेतालाई सम्मान गर्ने कार्ययोजना बनाएको सुनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार