टिस्टा नदीको बाढीमा १० नेपाली बेपत्ता भएको आशंका

इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीकै कारण हुनसक्ने आशंका गरिएको छ । ​

स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन् । बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको र बस्नेतलगायत अन्यको विषयमा पछि अन्य व्यक्ति पनि बेपत्ता भएको जानकारी प्राप्त भएको र यसबारे सिक्किमका मिडियामा खबर गरिसकेको बताए । बाढीका कारण त्यस स्थानमा पुग्न कठिन हुनाका साथै टेलिफोन, विद्युत्लगायत सबै सञ्चारका माध्यम अवरुद्ध भएकाले कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।

नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको र उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार