युद्धग्रस्त इजरायलमा कति छन् नेपाली ?

इजरायलमा हाल कूल ४ हजार ७ सय ६५ जना नेपाली रहेको सरकारले जनाएको छ । तीमध्ये ४ हजार ५ सय केयरगिभरका रूपमा कार्यरत छन् भने २६५ जना विद्यार्थी छन् ।

इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत त्यहाँ गएका २६५ नेपाली विद्यार्थीमध्ये १२ जनाको अवस्था अज्ञात रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन् ।

ती विद्यार्थीमध्ये केही हताहत भएको आशंका रहेको उनले बताएका छन् । तर यसको विवरण एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्रमन्त्री साउदको भनाइ छ ।

विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए । यो गाजा क्षेत्रनजिकै पर्दछ ।

आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘नेपाली राजदूतावास प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्रनजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार