एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी

गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

दोहास्थित र्‍याडिसन ब्लु होटलमा मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबीच शर्माले बिहीबार बिहान कतारबाट औपचारिकरुपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘गैरआवासीय नेपालीको अभियान स् स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूलनारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका छन् ।

संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।

वाचापत्र सार्वजनिक गर्दै उनले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’

सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजानुपर्ने खाँचे औँल्याउँदै उनले आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने दाबी गरे ।

काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशनले नयाँ नेतर्त्व चयन गर्दैछ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार