सीसँगै देखिए एसियन गेम्स उद्घाटनका पाहुना, नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन् ।

एसियाडका खेलहरु २ गते नै सुरु भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो । अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन् ।

लगत्तै उनी त्यहाँका राष्ट्रपति सी चिनफिङसँगै एसियन गेम्स उद्घाटन समारोहमा सहभागी भएका हुन् ।

एसियन गेम्समा नेपालबाट २९ खेलका २ सय ५३ खेलाडीले चुनौती पेस गर्दै छन् । एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै खेलाडी पहिलोपटक सहभागी हुन लागेका हुन् ।

एसियाडको उद्घाटनको मार्च पासमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका वीरबहादुर महरा र १२ र १३औं सागकी स्वर्ण पदक विजेता उसुकी निमा घर्तिमगरले नेपालको झन्डा बोक्नेछन् ।

एसियाडको उद्घाटनअघि नै नेपालको पुरुष भलिबल टोली भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह चरणका दुवै खेलमा पराजित नेपाली टोली बाहिरिएको हो । एसियाडमा महिला भलिबल, टेबल टेनिसका खेल पनि सुरु भैसकेका छन् ।

एसियाडका लागि सहभागी खेलाडी, प्रशिक्षक, पर्यवेक्षक चीन पुग्ने क्रम जारी छ ।

एसियाडका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत चीन पुगिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार