कोशीमा सांसदहरूलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन

विराटनगर- कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहँदा दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सांसदहरूलाई राजधानी सहर विराटनगर नछाड्न निर्देशन दिएका छन्।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ सरकार गठन प्रक्रियाले गति लिएकाले दुवै दलका सांसदहरूलाई विराटनगर नछाड्न भनिएको जानकारी दिए ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्ने बताउँदै दुवै दलले विराटनगरबाहिर रहेका सांसदहरूलाई पनि तत्काल आउन भनेका छन् ।

यदि नयाँ सरकारका लागि प्रदेश प्रमुखले आह्वान गरेको अवस्थामा दुवै दलले बहुमत सांसद उपस्थित गराउने गरी निर्देशन दिएका हुन् ।

कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन् । यहाँ केन्द्रको भागबन्डाअनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री हुने लाइनमा छन् ।

वर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने अडान लिएका छन् । उनले बुधबार मात्रै जेठ ११ गते बस्ने गरी प्रदेश सभा आह्वान गरिसकेका छन् ।

कार्कीले पद नछाड्ने अडान लिइरहँदा प्रदेश प्रमुखले उनलाई कामचलाउमा परिणत गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नेछन् । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि उनी संविधानत: अल्पमतमा परिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार