झापाले क्यानको चुनावमा भोट हाल्न नपाउने

प्रतिनिधि विवादसँगै झापा जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनावमा भोट हाल्न नपाउने भएको छ ।

क्यानको शुक्रबार सुरु भएको साधारणसभाले एउटै जिल्लाबाट २ जना प्रतिनिधि आएपछि झापाको मताधिकार खारेज गरिएको हो । झापाबाट क्यानको साधरण सभा तथा अधिवेशनमा लाम्पा लामा र मनोज कटवाल प्रतिनिधिको रुपमा आएका थिए ।

कटवालले जिल्ला क्रिकेट बोर्डको निर्णय अनुसार आफू आएको जनाएका थिए । लाक्पा लामाले अर्को निर्णय गर्दै आफू मत हाल्न आएका थिए ।

तर दुई प्रतिनिधि आएपछि क्यानले झापाको मतअधिकार नै खोसेको छ । योसँगै क्यानको केन्द्रिय चुनावमा कुल मत ८५ हुनेछ । क्यानका जिल्ला मान्यता सदस्यता ४५ जिल्लाबाट एक एक प्रतिनिधिले मत हाल्न पाउनेछन् । जसमा झापाको अधिकार खोसिएको हो ।

यस्तै साधारणसभामा क्यानको कार्य समिति बढाउने प्रस्ताव गरिएको छ । १७ सदस्यीय केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष र सहसचिव एकएक जना थपेर १९ पुर्‍याउन प्रस्ताव गरिएको छ ।

क्यानको भावी नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ । अध्यक्षमा चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् । उनलाई बर्दियाका विनय राजभण्डारीले चुनौती दिने तयारी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार