विराटनगर कार दुर्घटना : सांसदका छोरा कार्की पुर्पक्षका लागि कारागार चलान

जिल्ला अदालत मोरङले सवारी ज्यान मुद्दाका आरोपी रविनसिंह कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

बुधबार जिल्ला न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले सवारी ज्यान मुद्दाको पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि कार्की विराटनगर कारागार चलान भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

विराटनगर महानगरपालिका–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविनसिंह कार्कीले मदिरा सेवन गरी चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले विराटनगर एयरपोर्ट रोडमा दुई जनालाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।

दुर्घटनामा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया रामकुमार राजवंशी घाइते भएका थिए । दुर्घटनालगत्तै फरार भएका कार्कीलाई जेठ २३ गते प्रहरीले पक्राउ गरेको थियो । कार्की नेपाली कांग्रेस प्रदेश १ सांसद विन्दिया कार्कीका छोरा हुन् भने उक्त कार विन्दियाले प्रयोग गर्दै आएकी थिइन् ।

कार्की विरुद्ध सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गराएको थियो । अभियुक्तलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना मागदाबी राखेर अभियोग दर्ता भएको थियो । बुधबार प्रतिवादीको बयान सकिएपछि भएको थुनछेक बहस पछि उनलाई थुनामा राख्न आदेश दिइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार