ललिता निवास प्रकरण: जग्गा फिर्ता गर्ने भनेपछि ४८ जनालाई छुट

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा आफ्नो नाममा पारेका ४८ जनाले सरकारलाई जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेपछि उनीहरुले जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएका हुन् ।

सीआईबीले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा जग्गा फिर्ताका लागि निवेदन दिएको भन्दै सरकारी लिखत कीर्ते र संगठित अपराधको मुद्दाबाट छुटकारा दिइएको छ ।

सीआईबी स्रोतका अनुसार जग्गा फिर्ता गर्ने निवदेन दिएपछि उनीहरुलाई पक्राउ गरिएको छैन । पक्राउ परेकालाई पनि छाडिएको छ । जग्गा फिर्ता गर्छु भन्दै निवेदन दिनेमा काठमाडौं महानगरपालिका ३१ कमलादीका सिपिका खेतानसहित ४८ जना छन् ।

खेतानलाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । तर उनले आफ्नो नाममा रहेको जग्गा फिर्ता गर्ने भन्दै निवेदन दिएपछि सीआईबीले उनलाई थुनामुक्त गरेको थियो । यस्तै अन्य जग्गावालाले पनि अवैध रुपमा लिएको ललिता निवासको जग्गा सरकारलाई नै फिर्ता गर्ने भन्दै निवेदन दिएका छन् ।

उनीहरुलाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । सीआईबीले जग्गा फिर्ता प्रयोजनबाहेक २३८ जनालाई मात्रै सरकारी लिखत कीर्ते र संगठित अपराधमा प्रतिवादी बनाएको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाउँदा पनि जग्गा फिर्ता गर्ने व्यक्तिलाई प्रतिवादी बनाएको थिएन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार