खानीगाउँको जमिन भासिँदै गयो, जोखिममा ३२ परिवार

भूकम्पले जमिन चिरा पर्न थालेको थियो, वर्षाले झन् बढायो

उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा परेको छ । बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनले बताइन् ।

‘विसं २०७२ वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘केही दिनअघिको वर्षाले झन् जोखिम बढाएको छ ।’

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भागमा चिरा परेका छन्। घरको जगसमेत तलतल सर्दै गएको छ। घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेको उनले बताइन् ।

‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भनिन्, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’

पहिराको त्रासले स्थानीय साँझपख छिटोछिटो घरमा खाना खाएर ओढ्ने-ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेको उनले बताइन् ।

केही परिवार विद्यालयमा बास बस्न थालेका छन् । बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयलाई गाउँपालिकाले आग्रह गरेको छ । पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना जोखिममा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार