विमलेन्द्र, प्रकाशमान र शशांकको सन्देश- हामी एकै ठाउँमा छौं

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन् ।

कांग्रेसको दोस्रो पुस्ता तथा सभापतिका आकांक्षी नेतात्रयले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् । आज भएको छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताए ।

छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापति को उठ्ने भन्ने सहमति हुन समय लाग्ने बताए । ‘आज मुख्यगरी राष्ट्रिय राजनीति र पार्टी महाधिवेशनबारे हाम्रो छलफल भयो,’ उनले भने, ‘हाम्रो बीचमा सहमति भएर जाने सम्भावना प्रबल हुँदै गएको छ। पार्टीलाई एकजुट बनाएर लैजाने हाम्रो भनाइ हो ।’

निधि, कोइराला र सिंह कांग्रेसका संस्थापक नेताहरू महेन्द्रनारायण निधि, विपी कोइराला र गणेशमान सिंहका छोरा हुन् । अहिले महाधिवेशन केन्द्रित छलफल भइरहँदा ‘लिगेसीकै कारण मात्रै आएको रूपमा बुझ्न नहुने’ सिंह बताउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार