चितवनमा ३९ जनालाई अङ्गीकृत नागरिकता

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चारजनाले नागरिकता लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार ८३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् ।

यस्तै, १३ हजार ६०५ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए । सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार ७०५ जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार ४४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार ५६५ जनाले राहदानी सिफारिस लिएका छन् ।

कार्यालयले रु १३ करोड ३३ लाख २२ हजार १०९ रुपैयाँ राजस्व सङ्कलन गरेको उनले बताए । सबैभन्दा धेरै राहदानीबाट रु १३ करोड सात लाख ९० हजार सङ्कलन भएको छ ।

यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट रु ६ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत रु १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत रु ४४२ हजार तथा बेरुजुबापत रु नौ हजार सङ्कलन भएको न्यौपानेले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार