घोराही सिमेन्टले मागभन्दा बढी आवेदन परिसक्दा पनि थप्यो आईपीओमा आवेदन दिने म्याद

प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । मागभन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले आईपीओ भर्ने समय थपेको हो । प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको कम्पनीले दाबी गरेको छ । तर यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगावै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले बताएको छ ।

सीडीएसका अनुसार आइतबार साँझसम्ममा यस आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् ।  यो मागभन्दा २.४९ गुणा बढी आवेदन हो । कम्पनीले जेठ ३२ गते देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ खुला गरेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो ।

घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटलले गरेका छन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

केयर नेपालले घोराही सिमेन्टलाई ‘केयर एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ जुलाई २२ गते यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ जुलाई १३ गतेसम्म बाहल रहनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार